काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
निर्वाचन आयोगले बन्दसूचीमा समावेश उम्मेदवारले पुस २८ गते सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन सक्ने गरी सूचना प्रकाशित गरेको थियो। उक्त अवधिमा १७ दल तथा एकल चुनाव चिह्नका गरी १७५ जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार रहेका छन्। अन्य दलसँग गठबन्धन भएकाले लोसपाले बन्दसूचीमा समावेश सबै ११० उम्मेदवारको नाम फिर्ता लिएको आयोगले जनाएको छ।
यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ जना, जनादेश पार्टी नेपालका ६ जना र नेकपा (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना उम्मेदवारले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन्। नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका २–२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ।
यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका १–१ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पनि १–१ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा उम्मेदवारको नाम पेस गरेका थिए।

