बन्दीपुर (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बस उत्खनन गर्ने क्रममा मानव कङ्काल फेला परेको छ। डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बसबाट एक जनाको कङ्काल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र भएको मानव कङ्काल फेला परेको हो। फेला परेको कङ्काल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।
सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा १६ दिनअघि बसका पाटपुर्जा देखिएपछि खोजी तथा उत्खनन कार्य तीव्र पारिएको थियो।
इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको हो।
विसं २०८१ असार २८ गते बिहान काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको झोलुङ्गे पुल नजिकै लेदोसहितको पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसमा रहेका तीन यात्रु भने पौडेर बाहिर निस्कन सफल भएका थिए। बाँकी यात्रुहरू बससँगै बगेका थिए।

