काठमाडौँ । अमेरिकामा भीषण हिमपात र आँधीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ। आँधीसँगै परेको भारी हिमपातले अमेरिकाका धेरै राज्यमा जनजीवन अस्तव्यस्त भएको छ।
यद्यपि अधिकारीहरूले केही घटनामा मृत्युको कारण अझै पत्ता नलागेको बताएका छन्। बीबीसीका अनुसार हिमपात र अत्यधिक चिसोका कारण अमेरिकाका धेरै राज्यले आपत्कालीन अवस्था घोषणा गरेका छन्। देशका विभिन्न भागमा हिमपातसँगै वर्षा पनि भएको छ।
हिमआँधीले सबैभन्दा बढी असर न्युयोर्क राज्यमा पारेको छ। त्यहाँ ३७९ उडान रद्द गरिएका छन् भने लाखौँ घरधुरी विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। साथै विद्यालयहरू पनि बन्द गरिएको छ।
अधिकारीहरूले मौसमको अवस्था अझै केही समय प्रतिकूल रहन सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

हामीले यस समाचारमा प्रयोग गरेका तस्विर ‘द गार्जियन’बाट साभार गरेका हौं -सम्पादक ।

