काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उक्त क्षेत्रमा राति पनि एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

