काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र क्लबले चित्लाङ फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै विजयी यात्रा निरन्तरता दिएको छ। यो मछिन्द्रको प्रतियोगितामा लगातार चौथो जित हो।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा बुधबार सम्पन्न खेलमा मछिन्द्रका प्रदीप बुढाथोकी, विदेशी खेलाडी जोनाथन र अल्जोन अलिजोनोभले गोल गरे। प्रदीपले खेलको ३०औँ मिनेटमा खाता खोल्दा जोनाथनले ६५औँ र अल्जोनले ६९औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई सहज जित दिलाए। चित्लाङका विज्ञान खड्काले ७०औँ मिनेटमा एक गोल फर्काए पनि त्यो सान्त्वना मात्र बन्यो।
यसअघि मछिन्द्रले एनआरटीलाई १–०, मनाङ मस्र्याङ्दी क्लबलाई २–१ तथा प्लानिङ ब्वाइज युनाइटेडलाई २–० ले पराजित गरेको थियो।
चित्लाङका लागि भने यो चौथो खेलमा लगातार दोस्रो हार हो। अघिल्लो खेलमा चित्लाङ त्रिभुवन आर्मी क्लबसँग ५–१ ले पराजित भएको थियो। चित्लाङले पहिलो खेलमा नवजनजागृति युवा क्लबलाई २–१ ले हराएको थियो भने नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो।
उता, सोही मैदानमा भएको अर्को खेलमा एपिएफ फुटबल क्लबले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्यो। जावलाखेलका धवेन्द्र कुँवरले २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ५८औँ मिनेटमा समीरराज थोकरले बराबरी गोल गरेपछि खेल पुनः प्रतिस्पर्धात्मक बनेको थियो। समीरराजले ८२औँ मिनेटमा दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे।
प्रतियोगिताअन्तर्गत आज बिहान ११ बजे एन्फा कम्प्लेक्समा संकटा एफसी र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन्। सोही मैदानमा दिउँसो ३ बजे चर्च ब्वाइज युनाइटेड र नवजनजागृति युवा क्लबबीच प्रतिस्पर्धा छ।

