काठमाडौँ । दोस्रो गोदावरी नगरपालिका वडाव्यापी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। वडा नम्बर ५ लेले, वडा नम्बर १२ ठेचो, वडा नम्बर ११ चापागाउँ र वडा नम्बर ३ गोदावरी अन्तिम चारमा प्रवेश गरेका छन्।
बुधबार नै सेमिफाइनल खेल सञ्चालन गर्ने तयारी भए पनि खराब मौसमका कारण आयोजक गोदावरी नगरपालिकाले अन्तिम समयमा खेल स्थगित गर्दै बिहीबारका लागि सारेको थियो। तर निरन्तर वर्षाका कारण मैदान ओसिलो रहेकाले बिहीबार पनि खेल हुने–नहुने टुंगो लागिसकेको छैन। नगरपालिकाले मौसमको अवस्था हेरेर मात्र बाँकी खेल सञ्चालन गर्ने जनाएको छ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा वडा नम्बर ५ लेले र वडा नम्बर १२ ठेचोबीच प्रतिस्पर्धा हुनेछ। खेल गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा बिहीबार बिहान ११ बजेपछि सुरु गर्ने तयारी छ।
लेलेले पहिलो खेलमा वडा नम्बर १० टाहाखेललाई १–० ले पराजित गरेको थियो भने क्वार्टरफाइनलमा वडा नम्बर २ विशंखुनारायणलाई पनि समान १–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। ठेचोले पहिलो खेलमा वडा नम्बर ४ बडिखेललाई सडनडेथमा ५–४ ले हराएर क्वार्टरफाइनल पुगेको थियो। त्यसपछि वडा नम्बर ८ डुकुछापलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
दोस्रो सेमिफाइनलमा वडा नम्बर ११ चापागाउँ र वडा नम्बर ३ गोदावरीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो २ बजेपछि सुरु गर्ने तयारी गरिएको छ। चापागाउँले पहिलो खेलमा वडा नम्बर ७ देवीचौरलाई ३–० ले हराएको थियो भने क्वार्टरफाइनलमा वडा नम्बर १३ झरुवाराशीलाई ५–० को फराकिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो।
सिधै बाइ पाएर क्वार्टरफाइनल खेलेको गोदावरीले वडा नम्बर ६ टिकाभैरबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।
गत संस्करणमा गोदावरीले फाइनलमा टिकाभैरबलाई २–० ले हराउँदै उपाधि जितेको थियो। चालु संस्करणको उद्घाटन शनिबार नगर प्रमुख गजेन्द्र महर्जनले गरेका थिए।
१४ वडाको सहभागिता रहेको प्रतियोगितामा टिमहरू दुई समूहमा विभाजन गरिएको छ। पहिलो समूहमा वडा नम्बर ९ छम्पी, २ विशंखुनारायण, ५ लेले, १० टाहाखेल, ४ बडिखेल, १२ ठेचो र ८ डुकुछाप छन्। दोस्रो समूहमा वडा नम्बर ७ देवीचौर, ११ चापागाउँ, १३ झरुवाराशी, १ गोदामचौर, ६ टिकाभैरब, १४ ठैव बाँडेगाउँ र ३ गोदावरी समावेश छन्।
दुवै समूहका विजेताबीच माघ १७ गते शनिबार दिउँसो २ बजे उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ।
उपाधि विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए।
यसअघि करिब आठ महिनाअघि यही रंगशालामा आयोजना भएको दोस्रो उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिकाले गोदावरी नगरपालिकालाई हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो।

