दुई वर्षे सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रायोजन
कीर्तिपुर (काठमाडौं) । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको दुई वर्षे सम्झौताअनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित जर्सी सार्वजनिक गरिएको हो।
कीर्तिपुरमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले नेपाली महिला टोलीका खेलाडी तथा क्यान पदाधिकारीको उपस्थितिमा जर्सी अनावरण गरेका हुन् ।
एक्सट्रिम इनर्जी ड्रिंक्सले विज्ञप्तिमार्फत नेपाली महिला क्रिकेटसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै जर्सी प्रायोजनले खेलाडीको आत्मविश्वास बढ्ने, प्रेरणा मिल्ने र व्यावसायिक वातावरण सुदृढ हुने अपेक्षा गरिएको जनाएको छ।
कार्यक्रममा सदस्य–सचिव मेहताले खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे। क्यानका सचिव पारस खड्काले पछिल्लो समय नेपाली महिला क्रिकेट टोलीले प्रभावशाली प्रदर्शन गरिरहेको बताउँदै यस्ता प्रायोजनले खेलाडीको मनोबल अझ उच्च बनाउने विश्वास व्यक्त गरे।
यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारतमा आयोजना हुन लागेको पुरुष टी–२० विश्वकप हेर्न मुम्बई जाने नेपाली दर्शकका लागि दुई हजार थान जर्सी निःशुल्क वितरण गर्ने जानकारीसमेत दिएको छ।

