काठमाडौं । ६० लाख रुपैयाँ लुटपाटको घटनामा नेपाल प्रहरीका हवल्दार नै सलंग्न भएको तथ्य फेला परेको छ ।
लुटपाटको आरोपमा एक जना प्रहरी हवलदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार रहेका छन्। उक्त जानकारी अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दिएका हुन्।
“प्रहरी हवलदारसहित चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएका छौं,” एसएसपी खड्काले बताए।
प्रहरीका अनुसार ‘सस्तो दरमा सुन उपलब्ध गराइदिन्छौं’ भन्दै पीडितलाई लोभ्याएर ६० लाख रुपैयाँ लुटपाट गरिएको हो। सुन खरिदका लागि रकम लिएर आएका व्यक्तिलाई आफूहरू सीआईबीका प्रहरी भएको भन्दै डर देखाई रकम लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण आउने प्रहरीले जनाएको छ।

