काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचन्ड’ले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले ‘नयाँ’ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र स्पष्ट एजेण्डा बोकेर अघि बढ्नु भएको बताए।
उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा उत्पीडित वर्ग, जाति र समुदायको पहिचान स्थापित गर्ने मुद्दा नै नेपाली कम्युनिििष्ट पार्टीको मुख्य वैचारिक आधार हो।
उनले उपत्यकाभित्रका विभिन्न क्षेत्रका मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउन र नामावली भएको स्थानमै केन्द्रित गराउन कार्यकर्ताहरूलाई योजनाबद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिए। यसले निर्वाचन परिणाममा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले आजैदेखि तयारी थाल्न आग्रह गरे।
संयोजक दाहालले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ भन्ने अवधारणाको गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै आफूलाई नयाँ दाबी गर्ने केही शक्तिहरू वैचारिक रूपमा सबैभन्दा पुराना भएको आरोप लगाए। उदार र दलाल पुँजीवादको पक्षपोषण गर्ने विचार विश्व इतिहासकै पुरानो धार भएको उल्लेख गर्दै उनले यस्ता शक्ति कुनै पनि अर्थमा नयाँ हुन नसक्ने जिकिर गरे।
उनका अनुसार विचारको दृष्टिले हेर्दा आफूहरूले अघि सारेको एजेण्डाभन्दा उन्नत र नयाँ सोच अहिले नेपालको राजनीतिमा अरू कसैसँग छैन।

