काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ।
कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
विभागले हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण तथा यातायातका साधन सञ्चालन गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

