काठमाडौं: सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु भएको छ ।
माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ ।
केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्यक काम थालनी भैसकेको नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।
तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।
पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र मनसुन कायमै रहेकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमपूर्ण भएको भन्दै नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै उच्च जोखिमका घरमा नबस्न मेलम्चीबासीलाई आग्रह समेत गरेको छ ।
गएको असार १ गते र त्यसपछिको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएपछि पालिकाले बेवास्ता गरेको भन्दै पिडितले आलोचना गर्दै आएका थिए ।
तर नगरपालिकाले सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्मका प्रयास गरेको जनाएको छ ।
साथै बाढीपछि तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको, ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनको समेत व्यवस्था गरी सुरक्षित ठाउँमा राखेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।
