पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले यो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए। एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ’, उनले भने, ‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातको छ।’
कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो। त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो भने फागुनमा १४ अर्ब ६३ करोड, चैतमा १५ अर्ब ४७ करोड, वैशाखमा १५ अर्ब ७२ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
जेठ महिनामा मात्र १८ अर्ब १८ करोड राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो।
भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

