काठमाण्डौ । अग्रज पत्रकार पद्मभक्त खरेलको ८१ वर्षको उमेरमा निधन भएको छ । खरेलको बिहीबार बिहान लाजिम्पाटस्थित नीजि निवासमा निधन भएको हो ।
‘आकाश खस्यो, बुवा रहनु भएन ।’ सामाजिक सञ्जाल फेसबुकमा पद्मभक्तका ज्येष्ठ सुपुत्र डा अश्वस्थामाभक्त खरेलले लेखेका छन् ।
ज्योतिष समेत रहेका खरेललाई सुगरको सामान्य समस्या बाहेक केही नभएको पारिवारिक स्रोतबाट बुझिएको छ ।

काभ्रेपलाञ्चोकको हालको भुम्लु गाउँपालिकामा गणेशभक्त खरेल र तोलावती खरेलका दोस्रो सन्तानका रुपमा जन्मिएका पद्मभक्त काठमाडौँको लाजिम्पाटमा बस्दै आएका थिए ।
उनका धर्मपत्नी विष्णुलक्ष्मि खरेल र दुई छोरा डा अश्वस्थामाभक्त खरेल एवम् अनिल खरेल छन् । डा अश्वस्थामाभक्त त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका राजनीति शास्त्र विभागका उपप्राध्यापक हुन् । अधिवक्ता, लिक्विडेटरसमेत रहेका अश्वस्थामाभक्त पद्मभक्तद्वारा सञ्चालित एवम् प्रकाशित दिव्यचछु साप्ताहिकका प्रवन्ध सम्पादक समेत हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् लेखक तथा राजनीतिक विश्लेषक अजयबाबु शिवाकोटीले खरेलको बिहिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टी भएको बताएका छन् ।
नाताले शिवाकोटी अग्रज पत्रकार पद्मभक्त खरेलका भाञ्जा हुन् ।

