काठमाण्डौ— काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्ने यो पर्व विशेषगरी दिवङ्गत आफन्तको सम्झनामा मनाइन्छ।
गाईजात्रामा एक वर्षभित्र निधन भएका परिवारका सदस्यको सम्झनामा गाई वा गाईको रूप धारण गरेका मानिसलाई नगर परिक्रमा गराइन्छ। परिक्रमा गराउँदा उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा र दक्षिणा दान गर्ने चलन छ। यसो गर्दा दिवङ्गत आत्माले सहजै वैतरणी नदी पार गर्न पाउँछन् भन्ने धार्मिक विश्वास छ।
पर्वको ऐतिहासिक पृष्ठभूमि
गाईजात्राको सुरुवात राजा प्रताप मल्लले गरेका थिए। पुत्रवियोगमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन उनले जनतालाई पनि आफ्ना दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएका थिए। जब रानीको मन शान्त भएन, राजाले हास्यव्यङ्ग्य र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्न लगाए। त्यसैले यो पर्व शोकलाई शक्तिमा बदल्ने र व्यङ्ग्यको माध्यमबाट समाजलाई सन्देश दिने पर्वका रूपमा स्थापित भयो।
हास्यव्यङ्ग्य र सामाजिक सन्देश
गाईजात्राको एउटा महत्त्वपूर्ण पाटो हास्यव्यङ्ग्य हो। यस अवसरमा समाजमा विद्यमान कुरीति, विसङ्गति र राजनीतिक विकृतिलाई हास्यव्यङ्ग्यका माध्यमबाट उजागर गरिन्छ। पञ्चायती व्यवस्थाका क्रममा यसमाथि प्रतिबन्ध लगाइएको थियो। तर, २०३३ सालपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले यसलाई महोत्सवका रूपमा पुनर्जीवित गर्यो। आजभोलि गाईजात्राका बेला पत्रपत्रिकाले पनि विशेष हास्यव्यङ्ग्य अङ्क निकाल्छन्।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, दोलखा, पोखरा, धरानजस्ता नेवार समुदायको बाहुल्य भएका सहरहरूमा मनाइन्छ। यस पर्वको अवसरमा काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ।
Previous Articleसामाजिक अभियन्ता यमुना केसीको “रोल्पाली चेली” तीज गीत सार्वजनिक
Next Article यौन अपराधमा वार्ड दोषी, सांसदबाट राजिनामा

