काठमाण्डौ । गत वर्षको बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोपावरले करिब ११ महिनापछि बिजुली उत्पादन पुनः सुरु गरेको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले हाइड्रोपावरलाई ठूलो क्षति पुर्याएको थियो।
पुनर्निर्माणपछि अहिले आयोजनाले आफ्नो कुल क्षमताको ५० प्रतिशत अर्थात् ११ मेगावाट बिजुली उत्पादन गरिरहेको छ। मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहका अनुसार केही प्राविधिक समस्याका कारण पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको भए पनि छिट्टै नै पूर्ण क्षमतामा बिजुली उत्पादन हुनेछ।
बाढीले करिब एक अर्बको क्षति
बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ मा रहेको मान्डु हाइड्रोपावरको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युत् प्रसारण टावरमा ठूलो क्षति पुर्याएको थियो। कम्पनीका प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बाढीले एक अर्बभन्दा बढीको क्षति भएको बताए।
बागमतीको पानीबाट उत्पादन
२०७५ सालदेखि सञ्चालनमा आएको यो २२ मेगावाटको जलविद्युत् आयोजनामा निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानी रहेको छ। २०७२ जेठबाट निर्माण सुरु भएको यो आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता भएको छ।
आयोजनाको पावरहाउसबाट कुलेखानी प्रथमको सबस्टेसनसम्म बिजुली पुर्याउन बनाइएका ४२ वटा टावरमध्ये बाढीले दुईवटा टावरलाई पनि क्षतिग्रस्त बनाएको थियो, जसको पनि मर्मत भइसकेको छ।

