काठमाडौं— एसीसी महिला अन्डर-२० एसियन कप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाको सामना गर्दैछ। यो खेल भुटानको थिम्पुस्थित चाम्लिङ्थाम रङ्गशालामा दिउँसो १:४५ बजे सुरु हुनेछ।
नेपालका लागि यो खेल महत्त्वपूर्ण छ। समूहको उपविजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई यो खेलमा राम्रो प्रदर्शन र नतिजा दुवै आवश्यक छ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उत्तर कोरियाविरुद्धको खेललाई ध्यानमा राखेर शुक्रबार साउदी अरबविरुद्धको खेलमा टोलीमा पाँच परिवर्तन गरेका थिए। उक्त खेलमा नेपालले साउदी अरबलाई १–० ले हराएको थियो।
नेपालले अहिलेसम्म खेलेका दुई खेलबाट ४ अङ्क जोडेको छ। पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। यता, उत्तर कोरियाले भने आफ्नो दुवै खेलमा प्रभावशाली जित निकालेको छ। उसले साउदी अरबलाई १५–० र भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको थियो।
आजै समूह ‘ए’ का अन्य दुई टोली भुटान र साउदी अरबबीच पनि खेल हुँदैछ।
दुई खेल खेलेको भुटानको १ अङ्क छ भने साउदी अरब अङ्कविहीन छ।

