काठमाडौँ । यो वर्षको लक्ष्मीपूजामा देशभित्र विद्युत् माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट पुगेको छ, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार साँझ ६:५० बजे यो पिक डिमाण्ड रेकर्ड गरिएको हो। गत वर्ष लक्ष्मीपूजाको दिन एक हजार ६०२ मेगावाट माग रेकर्ड भएको थियो। यस वर्षको माग गत वर्षको भन्दा ४८ मेगावाटले बढी रहेको प्राधिकरणले जनाएको छ।
तिहारमा उद्योग तथा कलकारखाना प्रायः बन्द हुने भएकाले यो पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको रहेको प्राधिकरणले स्पष्ट पारेको छ। लक्ष्मीपूजाको दिन मागिएको सम्पूर्ण विद्युत् देशभित्रकै उत्पादनबाट आपूर्ति गरिएको थियो।
प्राधिकरणका अनुसार देशभित्रको माग पूरा गरेपछि थप उत्पादन भएको १ हजार १५ मेगावाट बिजुली सोही समयमा भारत निर्यात गरिएको हो। हाल नेपालले भारत र बङ्गलादेशमा पनि विद्युत् निर्यात गर्दै आएको छ।

