- दुई फरक स्थानमा प्रहरीले छापा मार्दा नगद र मोबाइल बरामद
कञ्चनपुर — दोधारा–चाँदनी नगरपालिकाका दुई फरक स्थानमा प्रहरीले छापा मार्दै १२ जना जुवातास खेलिरहेका व्यक्ति नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको टोलीले प्राप्त गोप्य सूचनाका आधारमा नगरपालिका–१, पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा छापा मार्दा ८ जनालाई नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार सो स्थानबाट रु ३० हजार ९३५ नगद, चार थान मोबाइल फोन र गलैँचा एक थान बरामद गरिएको छ।
त्यस्तै, नगरपालिका–३, देबीस्थानस्थित डम्बर दमाईको घरमा पनि प्रहरीले छापा मार्दा चार जना जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्। सो स्थानबाट रु २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन र त्रिपाल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

