- दण्ड होइन, सर्वसाधारणमा चेतना जगाउन प्रहरी सडकमा
- चाडपर्व सुरक्षित र अनुशासित बनाउन उपत्यकामा विशेष अभियान
काठमाडौँ — काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष कडाइ सुरु गरेको छ। चाडपर्वका बेला हुने सवारी दुर्घटनामा मापसे मुख्य कारण बन्दै आएको कारण यस वर्ष प्रहरीले सतर्कता र सचेतना दुवैलाई जोड दिएको नेपाल प्रहरीले बताएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद र ट्राफिक प्रहरी बिहिबार बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीहरूमा मापसे परीक्षणमा खटिए।
एआइजी कार्कीका अनुसार, प्रहरीको उद्देश्य चालकलाई दण्डित गर्नु होइन, “सुरक्षाको जिम्मेवारी नागरिक आफैंले लिनुपर्छ” भन्ने चेतना जगाउने हो।
उनले भने, “चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै हाम्रो अपेक्षा हो।”
विशेष अभियानमा ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक नवराज अधिकारी पनि टोलीसहित सक्रिय थिए। उनले त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल र बल्खु क्षेत्रको निरीक्षण गर्दै चालकहरूको मापसे परीक्षण गरेका थिए।
भाइटीकाको दिन मात्रै सयौँ सवारी चालकको मापसे परीक्षण गरिएको उनले बताए। अधिकारीका अनुसार, “मापसेको कारण दुर्घटना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो, त्यसैले हामीले दिनभर सडकमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौँ।”

ट्राफिक प्रहरीले यस वर्ष गत वर्षभन्दा थप कडाइ गरेको बताएको छ।
सडक प्रयोगकर्तामाझ ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैलाई साथ दिऔँ’ भन्ने नारासहित पर्चा वितरण र माइकिङ पनि गरिएको छ।
चाडबाडको अतिरिक्त अन्य समयमा पनि मापसे जाँचमा कडाई गरिने समेत एसएसपी अधिकारीले बताए ।

