काठमाण्डौ । सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब साढे ७ बजे माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङतर्फ जाँदै गरेको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको हो।
दुर्घटना माप्य दूधकोशी गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भिरकुनामा भएको वडा नम्बर ७ का अध्यक्ष सगुजित राईले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।
खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य पुगेको बोलेरो फर्कने क्रममा दुर्घटनामा परेको हो ।
रातिको समयमा दुर्घटना भएकाले मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

