काठमाडौँ । आर्थिक रूपमा पछाडि रहेको हुम्ला जिल्लामा ३३५ मेगावाट क्षमताको ‘हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना’ निर्माण प्रक्रिया अघि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया सुरु गरेको हो। आयोजनाको निर्माण रुरु जलविद्युत् परियोजना कम्पनीले गर्नेछ।
आयोजना हुम्लाको खार्पूनाथ र सर्केगाड गाउँपालिकामा पर्नेछ। मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत EIA सम्बन्धी सुझाव र सल्लाहका लागि सरोकारवालालाई आग्रह गरिसकेको जनाएको छ।
कुल ४७.१३ हेक्टर जमिन आवश्यक पर्ने आयोजनामा ५० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् परियोजनाका लागि अनिवार्य EIA गर्ने कानुनी व्यवस्था अनुसार काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक महत्वपूर्ण परियोजना हो। वर्षभर हिमनदी प्रवाह रहने हुम्ला कर्णालीमा निर्माण हुने भएकाले यस आयोजनालाई ऊर्जा उत्पादनका हिसाबले रणनीतिक रूपमा पनि महत्वपूर्ण मानिएको छ।
आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेन्ड रहनेछ। दुईवटा डाइभर्सन सुरुङ बन्नेछन्, जसको लम्बाइ क्रमशः ५४५ मिटर र ५४२ मिटर रहनेछ भने व्यास ९.५ मिटर हुनेछ।
सुक्खा याममा ६०९.८९ गिगावाट घण्टा र वर्षायाममा १,१८४.८३ गिगावाट घण्टा बिजुली उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट ४०० केभी प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ।
आयोजना निर्माणका क्रममा ५६ घरधुरी प्रभावित हुनेछन् र १८८ रुख काट्नुपर्ने अनुमान गरिएको छ।
कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ रहने अनुमान छ। प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँ पर्छ। निर्माण चरणमा औसत १,८०५ जनाले रोजगार पाउनेछन् भने सञ्चालन चरणमा ११५ जनालाई स्थायी रोजगारी उपलब्ध हुने अनुमान छ।

