काठमाडौँ । दिदीबहिनीको हातबाट भाइटीका लगाइँदै बिहीबार तिहार औपचारिक रूपमा सम्पन्न भएपनि तिहारको नाममा शुक्रबार पनि सरकारी बिदा रहेको छ ।
यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको रहेको छ। नेपाल सरकारले अघिल्ला वर्षहरूमा लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन मात्र बिदा दिने गरेको भए पनि यस वर्ष कात्तिक ३ देखि ७ गतेसम्म (शुक्रबार) तिहार बिदा उल्लेख गरिएको छ।
गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रअनुसार तिथि घटबढका कारण यसपटक लक्ष्मीपूजा र भाइटीकाको बीचमा एक अतिरिक्त बिदा समेत परेको थियो ।
लामो सरकारी बिदाका कारण कार्यालयका नियमित काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै आलोचना हुने गरे पनि सरकारले यसपालि पनि बिचमा रहेको दिन समेत तिहारका नाममा बिदालाई निरन्तरता दिएको हो ।
बिहिबार भाइटीकासँगै तिहार सम्पन्न भएपनि शनिबार थप सार्वजनिक बिदा भएकोले अघिल्लो दिन (शुक्रबार) पनि सरकारी कर्मचारीका लागि अनुकुल हुने गरि थप बिदा दिईएको हो ।
सरकारी कार्यालयहरू सोमबारदेखि बन्द रहेको र आइतबार मात्र कार्यालय खुल्ने छन्। तर त्यसकै अर्को दिन सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेकाले सो दिन पनि सार्वजनिक बिदा हुनेछ।
केही वर्षअघि तिथिको घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन थप बिदा दिने परम्परा सुरु गरेको थियो।
तर पछिल्ला वर्षहरूमा पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन।

