काठमाडौं । आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको शुक्रबार निधन भएको छ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान करिब साढे ८ बजे उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनको मृत्यु भएको जानकारी दिएका हुन् ।
गत शनिबार अनामनगरस्थित स्टुडियोभित्रै पौडेलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेपछि उनलाई तत्कालै उद्धार गरी उपचारका लागि वर्न अस्पताल, कीर्तिपुर लगिएको थियो।
घटनाबारे प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बयानका लागि बोलाएको थियो।
हाल गायक तथा संगितकार गिरी प्रहरी सम्पर्कमै रहेका छन्।
पौडेलको पक्षबाट अहिलेसम्म कुनै औपचारिक जाहेरी नपरेको बताएकै लगत्तै गायिका पौडेलका दाइ गणेश पौडेलले सिंहदरबारस्थित प्रहरी वृतमा जाहेरी दर्ता गरेका छन् । उनले गिरी र बहिनी नितु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलासा गर्दै आवश्यक अनुसान्धान गरि दोषीलाई कानूनी कारबाही गर्न माग गरेको एसपी भट्टराईले बताए ।

