काठमाडौं — जापान सरकारले बीपी राजमार्गको पुनर्निर्माण र मर्मतका लागि नेपाललाई रु दुई अर्ब ६० करोड बराबरको अनुदान सहयोग प्रदान गर्ने भएको छ।
अर्थ मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा नेपाल सरकार र जापानबीच उक्त अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। नेपालतर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत तोरु मायदाले सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थिति रहेको थियो। सोही अवसरमा वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच समेत छुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
१५९ किलोमिटर लम्बाइको बीपी राजमार्ग महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको छ। राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने यो राष्ट्रिय राजमार्ग जापान सरकारकै सहयोगमा निर्माण गरिएको हो।
गत वर्षको बाढीपहिरोले राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुर्याएको थियो। विशेष गरी रोशी नदी आसपासका भागमा सडक पूर्ण रूपमा ध्वस्त भएका थिए। जापानबाट प्राप्त सहयोग क्षतिग्रस्त खण्डहरूको पुनर्निर्माण र मर्मतमा खर्चिने अर्थ मन्त्रालयले जनाएको छ।
समारोहमा अर्थमन्त्री खनालले जापान नेपालका लागि विश्वसनीय र दीर्घकालीन विकास साझेदार रहेको उल्लेख गर्दै नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणमा जापानले पुर्याउँदै आएको योगदानप्रति आभार व्यक्त गरे।
जापानी राजदूत तोरुले उक्त सहयोगले बीपी राजमार्ग पुनःस्थापना र यातायात सुचारु गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले नेपाल–जापानबीचको दशकौँ पुरानो मित्रता आगामी दिनमा अझ प्रगाढ हुने अपेक्षा व्यक्त गरे।
हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

