काठमाडौँ — मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात राजनीतिक दलले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। बिहीबार दर्ता गरिएको प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकपक्षीय रूपमा सभा सञ्चालन गरेको आरोप लगाइएको छ।
प्रस्तावमा मण्डलले विपक्षी दल अनुपस्थित हुँदा समेत बैठक सञ्चालन गरेको र मुख्यमन्त्रीलाई रोष्टम प्रयोग गर्न नदिएको जस्ता कार्यले सभामुखको तटस्थता माथि प्रश्न उठाएको उल्लेख छ।
अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झा, माओवादी केन्द्रका दलका नेता भरतप्रसाद साह, जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेल र नागरिक उन्मुक्ति पार्टीकी नेतृ उर्मिला देवी सिंहलगायतका हस्ताक्षर छन्। कुल ६४ जना प्रदेशसभा सदस्यले प्रस्तावमा समर्थन जनाएका छन्।
मण्डल नेकपा एमालेबाट सभामुख निर्वाचित भएका हुन् । विपक्षी दलहरूले मण्डलको व्यवहारले सभामुखको पदको गरिमा र संसदीय परम्परा कमजोर भएको आरोप लगाउँदै उनलाई सभामुख पदबाट हटाउन पहल गरेका हुन्।


