काठमाडौं। नेकपा एमालेले आज (शनिबार) देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभाहरू आयोजना गर्दै व्यापक शक्ति प्रदर्शन गर्न लागेको छ। पछिल्ला राजनीतिक घटनाक्रम र संसद विघटनको मुद्दालाई लिएर एमालेले देशव्यापी अभियान तीव्र बनाएको हो।
एमालेले जारी वक्तव्यअनुसार प्रतिगामी षड्यन्त्रविरुद्ध र संसद पुनःस्थापनाको मागसहित आजका कार्यक्रम सञ्चालन हुनेछन्।
गत भदौ २४ गतेपछि देखिएको राजनीतिक अस्थिरता, असंवैधानिक ढङ्गबाट भएको भनिएको संसद विघटन तथा त्यसले निम्त्याएको संवैधानिक संकटबारे जनता सामु स्पष्ट पार्न एमालेले जनस्तरमा कार्यक्रम अगाडि सारिएको जनाएको छ।
यसअघि, एमालेले चरणबद्ध अभियानअन्तर्गत मङ्गलबार ७५३ वटै गाउँपालिका–नगरपालिकामा, साथै कात्तिक २२ गते देशभरका ६,७४३ वडामा भेला तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरिसकेको छ। पार्टीले यी कार्यक्रमहरूलाई जनसहभागिता र संगठनात्मक उपस्थितिको ‘तयारी परीक्षा’का रूपमा लिएको बताइएको छ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौंमा वृहत् केन्द्रीय जनप्रदर्शन र सभा आयोजना गर्नेछ। पार्टी नेतृत्वले उक्त कार्यक्रमलाई निर्णायक ‘जनसंघर्षको चरण’ भनिरहेको छ।
एमालेको आजको देशव्यापी प्रदर्शनले राजनीतिक वृतमा ठूलो ध्यान खिचिरहेको छ, किनकि सत्ता–प्रतिपक्षबीचको तनाव चुलिदैँ गएको अवस्थामा यसले राजनीतिक माहोललाई अझ तताउने निश्चित देखिएको छ।

