काठमाडौँ — फागुन २१मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आज (आइतबार) सकिँदैछ। दल दर्ताको अन्तिम समयमा निर्वाचन आयोगमा नयाँ दल दर्ताको चहलपहल बढेको छ।
शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। तीमध्ये पाँच दललाई आयोगले दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ। श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी र १० वाम दलको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी नयाँ दलका रूपमा सूचीकृत भएका छन्। त्यस्तै, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी–नेपाल पनि आधिकारिक रूपमा दर्ता भइसकेको छ।
यसबीच, निर्वाचन घोषणा भएपछि दुई दल आन्तरिक विभाजनबाट नयाँ दलको रूपमा छुट्टिएका छन्। जनमत पार्टीबाट अलग भएको समूहले जनस्वराज पार्टी गठन गरेको छ भने नेपाल जनमुक्ति पार्टीबाट छुट्टिएको समूहले राष्ट्रिय जनमुक्ति पार्टी बनाएको छ। दुवै दल आयोगमा दर्ता भइसकेका छन्।
यससँगै निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दलको संख्या १२६ पुगेको छ।
शनिवार सार्वजनिक बिदा भए पनि बाँकी दलहरूले आइतबारभित्र दर्ता प्रक्रिया पूरा गर्ने आयोगले जनाएको छ। आयोगले मतदाता नामावली संकलनका लागि पाँच दिन म्याद थपे पनि दल दर्ताको अन्तिम मिति भने परिवर्तन गरेको छैन।
मतदाता नाम दर्ताका लागि कार्यालयहरूमा भीड बढेपछि शनिबार पनि बायोमेट्रिक सेवा निरन्तर गरिएको थियो। थपिएको अवधिमा नागरिकहरूले राष्ट्रिय परिचयपत्र वा प्रि-रजिस्ट्रेसन प्रणालीमार्फत् अनलाइन आवेदन दिएर बायोमेट्रिक प्रक्रिया पूरा गर्न सक्ने आयोगले बताएको छ। अनलाइन आवेदन २४ सै घण्टा उपलब्ध रहने व्यवस्था गरिएको छ।

