काठमाडौं — स्पेनले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो विजयी लयलाई निरन्तरता दिंदै शनिबार जर्जियामाथि ४–० को प्रभावशाली जीत हासिल गरेको छ। लगातार पाँच खेल जितेको स्पेन समूह ‘इ’ को शीर्ष स्थानमा मजबुत रूपमा उभिएको छ।
जर्जियाको बोरिस पैचाड्जे डिनामो एरिनामा खेलिएको भिडन्तमा पाहुना टोली स्पेनका लागि माइकल ओयार्जबलले दुई गोल गरे। उनले खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलको खाता खोले। त्यसको ११ मिनेटमै मार्टिन जुबिमेन्डीले दोस्रो गोल थपे।
३५औँ मिनेटमा फेरान टोरेसले गोल गर्दा स्पेन ३–० ले अघि बढ्यो। दोस्रो हाफको ६३औँ मिनेटमा ओयार्जबलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको सहज जित सुनिश्चित गरे।
जितसँगै स्पेनले पाँच खेलबाट १५ अंक जोड्दै समूहको शीर्ष स्थान जोगाएको छ। जर्जिया भने समान खेलबाट तीन अंकसहित तेस्रो स्थानमा रहेको छ।

