त्रिशूली (नुवाकोट) — उपत्यकाको फोहर व्यवस्थापन फेरि संकटमा परेको छ। स्थानीयवासीको अवरोधका कारण नुवाकोटको ककनी र धादिङको धुनबेँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन पुन: बुधबारदेखि प्रभावित भएको छ। उपत्यकाबाट फोहर बोकेर आएका गाडीहरू स्थानीय अवरोधका कारण काठमाडौँ फिर्ता फर्किनु परेको छ ।
धुनबेँसी–१ का स्थानीय निराञ्जन सञ्जेलका अनुसार, विगतमा सहरी विकासमन्त्री कुलमान घिसिङले १६ कात्तिकमा बञ्चरेडाँडामा पुगेर सहमति कार्यान्वयनका चरणबद्ध कदम चाल्ने प्रतिबद्धता जनाएका थिए। तर, मौखिक आश्वासनअनुसार १५ दिनभित्र काम सुरु नहुँदा स्थानीयले पुनः अवरोध जारी राखेको सञ्जेलले बताए।
“सिसडोल–बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्थ्यो, तर अहिलेसम्म काम सुरु भएको छैन। अब लिखित प्रतिबद्धतासहित मात्र काम सुरु हुनुपर्छ,” उनले भने।
ककनी गाउँपालिका–१, २ र ३ तथा धुनबेँसी नगरपालिका–१ र ३ का स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जनका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन्। उनीहरूले २०७९ जेठ २६ मा काठमाडौँ महानगरप्रमुख बालेन्द्र शाहसहितको टोलीसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन्।
उक्त सहमतिमा फोहर विसर्जन रातिको समयमा मात्र गर्ने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लेचेट नचुहाउने, विसर्जनपछिका लेचेट खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्ने लगायतका व्यवस्था चरणबद्ध रूपमा लागू गर्ने उल्लेख थियो।
स्थानीयले फोहर विसर्जन अवरोध नहुँदा क्षेत्रभर दुर्गन्ध फैलिनु, सरुवाजन्य रोगको जोखिम बढ्नु, र दैनिक जनजीवन प्रभावित हुनु जस्ता समस्या देखिएको गुनासो गरेका छन्। यसैबीच, मन्त्रीस्तरीय लिखित प्रतिबद्धता सहित जिम्मेवार प्रतिनिधि प्रभावित क्षेत्रमा आउनुपर्ने माग राख्दै सिसडोल, कुँडुले र ढाँडेका सडकमा सयौँ स्थानीयले शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन्।
स्थानीयको मागमा नुवाकोट र धादिङका जनप्रतिनिधि तथा दलीय प्रतिनिधिहरूले पनि समर्थन जनाएका छन्।

