जनकपुर/धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना क्षीण बन्दै गएपछि उनले आज प्रदेशसभाको बैठकमै पदत्यागको घोषणा गरेका हुन् ।
पूर्वप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। बर्दिबासस्थित पानस कटेजमा बिहानै भएको उनको शपथले प्रदेशमा तीव्र राजनीतिक तरङ्ग पैदा भएको थियो।
त्यसैबीच संघीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सिफारिस गरेपछि मधेसको राजनीतिक वातावरण झनै तातिएको छ।
विपक्षी अनुपस्थित, बैठकमा एमाले मात्र
विश्वासको मतका लागि बोलाइएको बैठकमा विपक्षी सात दलका सांसद सहभागी नभएपछि पूरा विपक्षी बेञ्च नै खाली रह्यो। एमालेका सांसद मात्र उपस्थित थिए भने मन्त्रिपरिषद्का सदस्य—राप्रपाकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी मात्र बैठकमा उपस्थित भए।
‘म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो’
राजीनामा घोषणा अघि मुख्यमन्त्री यादवले आफूलाई गरिएको नियुक्ति बाध्यात्मक भएकाले विश्वासको मत अनिवार्य नरहेको तर्क गरे। २२ दिनको कार्यकाललाई जनतामुखी काममा केन्द्रित गरेको दाबी गर्दै उनले भने, “म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो। तर उनीहरू बैठकमै आएनन्। त्यसैले राजीनामा घोषणा गर्दछु।”
बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले यादवले राजीनामा दिइ सकेकाले विश्वासको मतसम्बन्धी कार्यसूची अघि बढाउनुपर्ने आवश्यकता नरहेको बताउँदै बैठक स्थगित गरिन्।

