काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली महिला क्रिकेट टोली बन्द प्रशिक्षणमा प्रवेश गरेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको बन्द प्रशिक्षण आगामी महत्त्वपूर्ण छनोट चरणको तयारीका रूपमा रहेको क्यानले जनाएको छ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार २६ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो। प्रारम्भिक सूचिमा इन्दु बर्मा, राजमति ऐरी, सीता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी परेका छन्।
क्यानका अनुसार बन्द प्रशिक्षणपछि अन्तिम १५ सदस्यीय टोली घोषणा हुनेछ।
आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुने ग्लोबल क्वालिफायरमा १० राष्ट्र सहभागी हुँदैछन्। तीमध्ये शीर्ष चार टोलीले सन् २०२६ जुनमा इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपको यात्रा पक्का गर्नेछन्।
प्रतियोगितामा समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाब्वे छन् भने समूह ‘बी’ मा नेपालसहित बंगलादेश, नामिबिया, नेदरल्याण्ड्स र पपुवा न्यूगिनी रहेका छन्।

