काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पहिलो क्वालिफायर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।
लिग चरणमा उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम अङ्क तालिकाको शिर्षस्थानमा पुगेको थियो भने विराटनगर दोस्रो स्थानमा रहँदै क्वालिफायर–१ का लागि छनोट भएको हो। सात खेलमध्ये सुदूरपश्चिमले छ जित निकालेको छ, जबकि विराटनगरले पाँच खेल जित्दै अगाडि बढेको हो ।
लिगमा सुदूरपश्चिमलाई एक मात्र हार विराटनगरकै हातबाट भेटिएको थियो। विराटनगर भने चितवन र लुम्बिनीविरुद्ध पराजित भएको थियो। आजको खेल जित्ने टोली सिधैँ फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटरमार्फत दोस्रो मौका पाउनेछ।

