काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमालेले आज राजधानी काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्दै चुनावी मैदानमा औपचारिक प्रवेश गरेको छ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा दिउँसो भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादी पुगेर जनसभामा परिणत हुने कार्यक्रम तय गरिएको छ। मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रदर्शनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै चुनावी सन्देश दिने तयारी गरिएको एमाले केन्द्रीय समिति सचिव एवम् बागमति प्रमुख महेश बस्नेतले बताए ।
नेता बस्नेतका अनुसार प्रदर्शन आगामी निर्वाचनका लागि एमालेको विशेष चुनावी अभियानको थालनी हो।
संगठन सुदृढीकरण, कार्यकर्ता उत्साह र जनमत संकलनलाई मुख्य उद्देश्य बनाएर प्रदर्शन आयोजना गरिएको जनाइएको छ।
एमालेले केही निर्वाचन क्षेत्रबाहेक अधिकांश स्थानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको छ। राजधानीबाट सुरु गरिएको यो शक्ति प्रदर्शनले देशव्यापी चुनावी माहोल सिर्जना गर्ने पार्टीको विश्वास छ।
राजनीतिक सरगर्मी बढिरहेका बेला एमालेको यो प्रदर्शनलाई आगामी निर्वाचनको शक्तिसन्तुलन मापन गर्ने महत्वपूर्ण संकेत हो।

