काठमाडौं — निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित फिल्म ‘झिँगेदाउ २’ को छायांकन औपचारिक रूपमा सम्पन्न भएको छ। निर्माण टिमका अनुसार बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पूर्ण छायांकन ६३ दिनमा सकिएको हो।
निर्देशक देउजाले प्रारम्भिक रूपमा ६० दिनको सेड्युल तय गरिए पनि फिल्मलाई गुणस्तरीय बनाउन कुनै सम्झौता नगरेकाले तीन दिन थप समय लागेको बताए। पहिलो भागले दर्शकमाझ बनाएको अपेक्षा जोगाउँदै दोस्रो भागलाई अझ उत्कृष्ट बनाउन सम्पूर्ण टिमले पूर्ण समर्पणका साथ काम गरेको उनको भनाइ छ। “दर्शकले यसपटक पनि सन्तोषजनक मात्र होइन, अझ परिष्कृत सिनेमा हेर्न पाउनेछन्,” उनले विश्वास व्यक्त गरे।
आगामी वर्षको दशैंलाई लक्षित गर्दै प्रदर्शन तयारी भइरहेको फिल्मको पोस्ट–प्रोडक्सनको काम केही दिनमै सुरु गरिने निर्माण टिमले जनाएको छ। काभ्रेको पनौतिबाट सुरु भएको छायांकन काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ हुँदै चितवनमा पुगेर टुंगिएको हो।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायत कलाकारको अभिनय देख्न पाइनेछ।
निर्देशक देउजाकै कथामा बनेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। छायांकन बिष्णु घिमिरे ‘कल्पित’ले गरेका छन् भने निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन्।
दर्शकको ठूलो अपेक्षा बोकेको ‘झिँगेदाउ २’ अब पोस्ट–प्रोडक्सनको चरणमा प्रवेशसँगै प्रदर्शन मितितर्फ औपचारिक रूपमा अघि बढेको छ।

