मुम्बईको वानखेडे स्टेडियममा ऐतिहासिक जीत
काठमाडौँ — आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत चौथो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक प्रदर्शन गर्दै स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीलाई सात विकेटले पराजित गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको प्रतिस्पर्धामा नेपालले १७१ रनको लक्ष्य १९.२ ओभरमा तीन विकेट गुमाएर सहजै पूरा गर्दै विश्वकपमा १२ वर्षपछि जित दर्ता गर्यो।
यसअघि सन् २०१४ को विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। त्यसयता विश्वकप जितविहीन रहेको नेपालले यस पटक दमदार पुनरागमन गरेको हो।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरी नायक बने। उनले मात्र २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे। गुल्सन झा २४ रनमा अविजित रहेर उनलाई साथ दिए।
ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन बनाए भने आसिफ शेखले २७ बलमा ३३ रन जोडे। कप्तान रोहित पौडेलले १६ रन बनाए।
बलिङमा स्कटल्याण्डका माइकल लिस्कले तीन विकेट लिए पनि नेपालको आक्रामक ब्याटिङ रोक्न सकेनन्।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनाएको थियो।
ओपनर माइकल जोन्सले ४५ बलमा ७१ रन बनाउँदै अर्धशतक प्रहार गरे। जर्ज मुन्से (२७) र ब्राण्डन म्याकमुलेन (२५) ले साथ दिए।
नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए। रोहित पौडेल र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए ।
१२ वर्षको प्रतीक्षापछि विश्वकपमा नेपालको यो जित केवल अंकको हिसाबले मात्र होइन, आत्मविश्वास र सम्भावनाको पनि घोषणा बनेको छ। वानखेडेको मैदानमा देखिएको नेपाली जोशले आगामी खेलका लागि नयाँ आशा जगाएको छ।

