काठमाडौं । सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवा सञ्चालन गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै आज र भोलि दुवै दिन कार्यालय खुला रहने जानकारी दिएको हो।
सरकारले आज ग्याल्पो ल्होछार तथा भोलि प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भए पनि अत्यावश्यक सेवाअन्तर्गत राहदानीसम्बन्धी काम निरन्तर सञ्चालन गरिने विभागले जनाएको छ।
विभागका अनुसार दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुनेछ। आज राहदानी वितरण सेवा प्रदान गरिनेछ भने बिहीबार राहदानी आवेदन फाराम सङ्कलन गरिने व्यवस्था मिलाइएको छ।
सार्वजनिक बिदाका दिन पनि नागरिकको सहजताका लागि सेवा जारी राखिएको विभागले स्पष्ट पारेको छ।

