काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता प्रतिबन्ध होइन, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्ने माध्यम भएको बताएका छन्।
मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जालको भूमिकाबारे आयोजित अन्तरक्रियामा उनले मिथ्या र गलत सूचना रोक्न तथा स्वस्थ प्रतिस्पर्धा कायम गर्न आचारसंहिता जारी गरिएको स्पष्ट पारे। निर्वाचन लोकतन्त्रको प्राण भएकाले सही सूचना प्रवाह गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
आचारसंहिता लागू भएको बेला अनुमानका आधारमा हारजितका समाचार प्रकाशन गर्दा मतदातामा भ्रम फैलिने भन्दै उनले यस्तो प्रवृत्ति रोक्न आग्रह गरे। कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्रीले पनि निर्वाचन वातावरण बिगार्ने भन्दै स्वच्छ प्रचारप्रसारमा जोड दिए।
निर्वाचन आचारसंहिताको समयमा कुनै उम्मेदवारलाई राम्रो वा नराम्रो ठहर गर्ने शैलीका समाचार सम्प्रेषण नगर्न पनि उनले आग्रह गरे। मुलुकलाई लयमा फर्काउने माध्यमका रूपमा आगामी फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए। नयाँ थपिएका करिब साढे नौ लाख मतदाताका कारण मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने विश्वाससमेत व्यक्त गरे।
आयोगका सचिव कृष्णबहादुर राउतले कलाकार र कन्टेन्ट क्रियटरलाई मतदाता शिक्षा प्रवर्द्धनका लागि सद्भावना दूतको भूमिकामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसपटक २०७९ सालको तुलनामा नौ लाख १५ हजार मतदाता थपिएको जानकारी दिए। १६ वर्ष पुगेकालाई मतदाता नामावलीमा समावेश गर्ने र निर्वाचनअघिसम्म १८ वर्ष पूरा हुनेलाई मतदाता सूचीमा राख्ने व्यवस्था रहेको उनले बताए।
चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसीले राजनीतिक दल र उम्मेदवारले एजेण्डा केन्द्रित राजनीति नगर्दा निर्वाचन प्रक्रियामा समस्या देखिने गरेको टिप्पणी गरे।
हास्यकलाकार मनोज गजुरेलले ‘भाइरल कन्टेन्ट’का नाममा सामाजिक सञ्जालमा फैलिने सामग्रीले राजनीतिक विषाक्तता बढ्न सक्ने भन्दै सजग हुन आग्रह गरे।
पूर्व मिसेस नेपालकी सहभागी नानुसिंह ठकुरीले निर्वाचनसम्बन्धी सत्यतथ्य सूचना सामाजिक सञ्जालमार्फत प्रसार गर्नुपर्नेमा जोड दिइन् ।

