काठमाडौ मंसिर १ गते –स्थानीय तहको हुन गइरहेको उपनिर्वाचनमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालले बहिष्कार र भण्डाफोर गर्ने भएको छ ।देशको रिक्त ४४ स्थानमा यही ०८१ मसिर १६ गते हुना गइरहेको उपनिर्वाचनबाट देश र जनताले खासै उपलव्धी प्राप्त गर्न नसक्ने भएकाले भण्डाफोर र बहिष्कार गर्न आम जनसमुदायलाई एक प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं. २०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित-उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो ।’ हाल यहाँ तथाकथित कम्युनिस्टहरुको चुनावमा रहेको सहभागिता र उनीहरुको शासनमुनि जनताको भोगाइले यही भनाइलाई सावित गरेको छ । सर्वविदितै छ, कम्युनिस्टहरुले चुनावलाई आफ्नो रणनीति पुरा गर्ने कार्यनीति बनाउनुपर्छ । उनीहरुले तात्कालिक परिस्थितिको ठोस विश्लेषण गरी बहिष्कार वा उपयोग गर्दछन् । रणनीतिलाई फाइदा हुने शर्तमा उपयोग र बहिष्कार दुवै गर्नुपर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यनीतिका नाममा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावमा भाग लिने र चास्नीको झिंगा बनी त्यसैलाई रणनीति बनाउने समस्या रहेको कुरा जगजाहेर छ ।
विज्ञप्तिमा उल्लेखगरिएको छ नेकपा (एमाले) र नेकपा (माके) यही कार्यनीतिको चास्नीमा डुबिरहेको दृश्य सबैले हेरिरहेकै छन् । त्यसकारण चुनाव रणनीतिक महत्वको कार्यनीति भएकोले हामी आम जनसमुदायलाई होसियार रहन विशेष अनुरोध गर्दछौं । नेपालमा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावबाट नेपाली जनता वाक्कदिक्क भइसकेका छन्। यो पुँजीवादी अर्थव्यवस्थामा आधारित पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत हुने चुनाव होइन, बरु दलाल पुँजीवादी अर्थव्यवस्थामा आधारित दलाल संसदीय व्यवस्था अन्तर्गत हुने रिक्त स्थानको स्थानीय चुनाव हो । आज नेपालमा संघीय, प्रादेशिक र स्थानीय चुनावमा जित्नेहरु जनप्रतिनिधिहरु होइनन्, बरु नवधनाढ्य र दलाल पुँजीवादका पुच्छर बन्दै गएका छन् । स्थानीय निकाय स्वयं भ्रष्टाचारका शिकार बन्दै गएका छन् ।
पालिका प्रमुखहरुको भ्रष्टाचारको साझेदारी नातावादसँग घनिष्ट रुपले जोडिएको छ ताकि भ्रष्टाचारको अलिकति पनि आम्दानी परिवारबाहिर नजाओस् । स्थानीय निकायका कर्मचारीहरु योग्यताका आधारमा होइन, नाता वा आफ्नै पार्टीको सदस्य भएको आधारमा नियुक्ति गरिन्छ । शोषित- उत्पीडित वर्गका मानिसहरु चुनिएर जनपक्षीय कार्य गर्ने स्थिति नै छैन । स्थानीय चुनाव पनि नव धनाढ्यहरुको कब्जामा परिरहेको छ । एमाले र माकेको चुनावमा भाग लिने कार्यनीति वास्तवमा रणनीतिमा बदलिएको छ र त्यसले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई बलियो बनाउन, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी चेतनालाई धमिल्याउन, क्रान्तिकारी पार्टी र संगठन निर्माणमा असमर्थ बनाउन र सामाजिक जीवनको विकासमा व्यवधान खडा गर्न मद्दत गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस चुनावमा भाग लिनुकोपरिणाम पनि अर्को परिस्थिति तयार नभएसम्म यही हुनेछ ।
विज्ञप्तिमा भनिएको छ यसको साथै हाम्रो पार्टीका सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान गर्दछौं । त्यसकारण हाम्रो पार्टी यो रिक्त स्थानीय चुनावको निम्न कार्यक्रमका साथ बहिस्कार गर्दछ ः १) संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने । २) व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने । ३) भण्डाफोर सभाहरु गर्ने । ४) सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने
Previous Articleदिगो सामाजिक सुरक्षा व्यवस्थापन आजको आवश्यकता
Next Article स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

