काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रवादी पत्रकारहरूलाई शुभकामना व्यक्त गरेकी छन्।
उनले शुभकामना सन्देशमार्फत प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारितालाई नेपाली कांग्रेसको मूल मान्यता भएको उल्लेख गरेकी छन्। “यी मूल्य र मान्यताका साथ नेपाली कांग्रेस सधैं पत्रकारहरूको हक, अधिकार र सुरक्षाको पक्षमा उभिएको छ,” डा. संग्रौलाले भनिन्।
नेपाल प्रेस युनियनलाई नेपाली कांग्रेससँग आबद्ध पत्रकारहरूको संगठनका रूपमा चिनिन्छ। विगतदेखि नै लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय रहँदै आएको यस संस्थाले नेपाली पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको डा. संग्रौलाले स्मरण गराइन्।
शुभकामना सन्देशको अन्त्यमा उनले प्रेस युनियनको आगामी यात्रामा सफलता र लोकतान्त्रिक मूल्यको संरक्षणमा अझ सक्रिय योगदानको कामना गरेकी छन्।

