काठमाण्डौं। पत्रकार दिलभूषण पाठकलाई आफै उपस्थित हुन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ। पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गर्दै मंगलबार सूचना जारी गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर अपराध)को कसुरमा पक्राउ पुर्जी जारी भएको थियो। पाठकले काठमाडौँको पाँच तारे होटल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा भिडिओ रिपोर्ट प्रशारण गरेपछि देउवाले साइबर ब्युरोमा उजुरी दिएका थिए ।
सोमबारमात्रै उच्च अदालत पाटनले दिलभूषण पाठकलाई ‘कानुनबमोजिम बाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधाको निवेदनमा सुनुवाइ गरेपछि यो आदेश जारी भएको हो। अन्तरिम आदेशका लागि छलफलका लागि अदालतले असार ५ गते बिहीबार दुवै पक्षलाई बोलाएको छ।
आदेशमा लेखिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० ९क० बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’

