काठमाण्डौं। भिजिट भिषा प्रकरणको विषयलाई लिएर राप्रपा, रास्वपाले निरन्तर संसद अवरोध गरेपछि प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिए पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो।
दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ।
यसअघि सभामुख र पाँच दलका प्रमुख सचेतकबिचको छलफल पनि विना निष्कर्ष सकिएको थियो । सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न बिहीबारसम्मका लागि बैठक स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।

