–टपटेन खबर संवाददाता
काठमाडौँ, असार २७ –
इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण र इरानमाथि साम्राज्यवादी हस्तक्षेपको विरोधमा देशभर सक्रिय १४ राजनीतिक दल तथा समूहहरूको संयुक्त आयोजनामा आज काठमाडौँमा भव्य विरोध प्रदर्शन सम्पन्न भयो।
विरोध कार्यक्रमको सुरुवात दिउँसो २ बजे शान्तिवाटिकाबाट जुलुसका रूपमा शुरु भई जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्ग पुगेर सभामा परिणत भएको थियो।
“साम्राज्यवाद भनेको युद्धको बीउ हो” – रामसिङ श्रीस
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले सभालाई सम्बोधन गर्दै साम्राज्यवादको स्वरूप नै युद्धमुखी रहेको बताउँदै भने, “जबसम्म साम्राज्यवाद अन्त्य हुँदैन, तबसम्म पृथ्वीमा युद्धको सिलसिला रोकिन्न।” उनले कमजोर राष्ट्रहरूको प्राकृतिक स्रोत दोहन गर्दै बलिया राष्ट्रहरूले आफ्नो स्वार्थ लाद्ने प्रवृत्तिको कडा भर्त्सना गरे।
श्रीसले इरानी र प्यालेष्टाइनी जनताको आत्मरक्षात्मक संघर्षको खुलेर समर्थन गर्दै अमेरिकालाई आणविक अस्त्र विनाशको वास्तविक पहल स्वयंबाट गर्न आग्रह गरे।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिको त्रैस्तरीय प्रतिरोध योजना
महासचिव आहुतिले मध्यपूर्वमा जारी युद्धले दक्षिण एशियालाई पनि सजग बनाउने चेतावनी दिए। उनले राजनीतिक, आर्थिक र सांस्कृतिक तहमा साम्राज्यवादविरुद्ध संघर्षको तयारी गर्नुपर्नेमा जोड दिंदै भने, “हामीले नवउदारवादी अर्थनीति परास्त गरेर आत्मनिर्भरता आधारित नेपाली मौलिक अर्थतन्त्रको विकास गर्नुपर्छ।” साथै, साम्राज्यवादी उपभोक्तावादको सट्टा प्रगतिशील सांस्कृतिक चेतनाको निर्माण आवश्यक भएको उनले बताए।
“अघोषित तेस्रो विश्वयुद्ध सुरु भइसकेको अवस्था छ” – चित्रबहादुर केसी
राष्ट्रिय जनमार्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान परिस्थितिलाई अघोषित तेस्रो विश्वयुद्धको सुरुआतको संज्ञा दिँदै सबै विचारधाराका बीच मतभेद हुँदाहुँदै पनि साम्राज्यवादविरुद्धको एकता अपरिहार्य भएको बताए।
“इजरायलसँगको सम्बन्ध पुनर्विचार होस्” – सागर लिम्बु
नेकपा (बहुमत) का पोलिटब्यूरो सदस्य सागर लिम्बुले केवल निन्दा गरेर मात्र नपुग्ने भन्दै इजरायलसँग नेपालले राखेको कूटनीतिक सम्बन्धमाथि पुनर्विचार गर्नुपर्ने धारणा राखे।
फरक विचार, एउटै आवाज
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका राजु थापा, खालिद सिद्दिकी, नेपाल कम्युनिष्ट पार्टीका चिरन सी, देशभक्त समाजवादी मोर्चाका गोपाल किराँतीलगायत नेताहरूले आआफ्ना धारणा राख्दै साम्राज्यवादविरोधी आवाज बुलन्द गरे।
सांस्कृतिक प्रतिवाद
सांस्कृतिक कार्यक्रमअन्तर्गत ‘सुशेला संगीत समूह’ र ‘रक्तिम सांस्कृतिक अभियान’ले साम्राज्यवादविरोधी जनगीत प्रस्तुत गरेका थिए, जसले प्रदर्शनमा उर्जा थपेको थियो।
नाराहरुबाट प्रतिरोधको आवाज
प्रदर्शनमा ‘साम्राज्यवाद मुर्दाबाद’, ‘प्यालेष्टाइनमाथिको आक्रमण बन्द गर’, ‘इरानको सार्वभौमिकताको रक्षा गर’, ‘विश्व शान्ति कायम गर’ लगायतका नाराहरू गुन्जिएको थियो।
कार्यक्रमको अध्यक्षता नेकपाका अध्यक्ष ऋषि कट्टेलले गर्नुभएको थियो भने सञ्चालन नेकपा मसालका समिर सिंहले र स्वागत जनता समाजवादी पार्टीका लालबहादुर तामाङले गरेका थिए।

