काठमाण्डौ— इजरायली आक्रमणमा गाजापट्टीमा अल जजिराका पत्रकार अनस अल–शरीफसहित पाँच पत्रकारले ज्यान गुमाएका छन्। अल–शिफा अस्पतालको मुख्य गेट बाहिर पत्रकारहरूको टेन्टलाई लक्षित गरी गरिएको यो हमलामा उनीहरू मारिएका हुन्।
मृत्यु हुनेमा अल जजिराका संवाददाता मुहम्मद करेइख, क्यामेरा अपरेटर इब्राहिम जाहेर, मुहम्मद नुफल र मोआमेन अलीवा पनि छन्।

अल–शरीफको अन्तिम सन्देश
२८ वर्षीय पत्रकार अल–शरीफले आफ्नो मृत्युअघि गाजाको पूर्व र दक्षिणी भागमा भइरहेको इजरायली बमबारीबारे अन्तिम ट्वीट गरेका थिए। उनको अन्तिम भिडियोमा इजरायली आक्रमणको आवाज र आकाशमा फैलिएको उज्यालो देख्न सकिन्छ। अल जजिराका अनुसार इजरायली सैनिकले भने अल–शिफामा भएको यो आक्रमणलाई हमास विरुद्धको कारबाही भन्दै त्यसको जिम्मेवारी लिएको छ।
झन्डै दुई हप्ताअघि एक इजरायली सैनिक अधिकारीले अनस अल–शरीफले पत्रकारको आवरणमा हमासका लागि काम गरेको आरोप लगाउँदै एउटा भिडियो सार्वजनिक गरेका थिए। यस घटनापछि अल जजिरा मिडिया नेटवर्क र विभिन्न पत्रकार सुरक्षा संगठनहरूले गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले अल शरीफ गाजाबाट समाचार दिने विश्वको एक मात्र आवाज रहेको भन्दै दुःख व्यक्त गरेका छन्। हालसम्म गाजामा इजरायली आक्रमणमा २०० भन्दा बढी पत्रकारको ज्यान गइसकेको छ।

