काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र रहे पनि दैनिक उपभोग्य खाद्य वस्तुमा अपेक्षाकृत बढी मूल्यवृद्धि देखिएको छ।
प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२, दाल तथा गेडागुडीको ७.९० र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ। तर, मरमसला उपसमूहको मूल्य २.६२ प्रतिशत र माछा–मासुको मूल्य ०.३४ प्रतिशतले घटेको पाइएको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ६.०९, मदिराजन्य पेय पदार्थको ५.६५, फर्निसिङ तथा घरायसी उपकरणको ४.७८ र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.४६ प्रतिशत मुद्रास्फीति भएको छ। मधेशमा ४.१४, बागमतीमा ३.५७, गण्डकीमा ३.३२, लुम्बिनीमा ३.७०, कर्णालीमा ३.३१ र सुदूरपश्चिम प्रदेशमा ५.०३ प्रतिशत मुद्रास्फीति देखिएको छ।
भौगोलिक क्षेत्रमा हेर्दा काठमाडौँ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७, तराईको ४.१४, पहाडको ३.८६ र हिमाल क्षेत्रको ४.८९ प्रतिशत रहेको छ। ग्रामीण क्षेत्रमा मुद्रास्फीति ४.४० प्रतिशत र सहरी क्षेत्रमा ३.९४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

