काठमाडौंमा तीन दिने अहिंसा महोत्सव हुने
शाकाहार र अहिंसामार्फत दिगो जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित काठमाडौंमा अहिंसा महोत्सव नेपाल हुने भएको छ। नेपाल शाकाहारी संघको आयोजनामा हुने यो महोत्सव आगामी भदौ १२ देखि १४ गतेसम्म प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजना हुनेछ।
आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्। यसपटकको महोत्सव “करुणाले जोड्छ” भन्ने मूल नारामा केन्द्रित हुनेछ।
👉 महोत्सवका विशेषता
निःशुल्क प्रवेश
दिगो जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया
भरतनाट्यम नृत्य तथा सांगीतिक प्रस्तुति
योग तथा ध्यान सत्र
अन्तर्राष्ट्रिय वक्तासँग प्रत्यक्ष संवाद
शाकाहारी परिकारको स्वाद तथा पकाउने विधि प्रदर्शन
विशेष रात्रिभोज कार्यक्रम
यस महोत्सवमा ६० भन्दा बढी शाकाहारी उत्पादनका स्टल, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी संस्था सहभागी हुनेछन्। केही स्टलमा निःशुल्क रूपमा भेगन खानाको स्वाद लिन सकिने छ। आयोजकले यसपटक ५० हजारभन्दा बढी सहभागी हुने अनुमान गरेको छ।
नेपाल शाकाहारी संघले यसअघि सन् २०१७ मा काठमाडौंमै आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (APVC) आयोजना गरेको थियो, जसमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी भएका थिए।
यस वर्षको अहिंसा महोत्सवलाई काठमाडौं एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वर्ल्ड भिजन अर्गनाइजेसनले सह–आयोजकको भूमिका निर्वाह गर्नेछन् भने, वल्र्ड भेगन भिजन र म्याजिक मार्बल फाउन्डेसन प्रमुख प्रायोजक रहेका छन्।

