काठमाडौं, भदौ ११ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका छन्।
मन्त्री गुरुङका अनुसार, मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।
यस्तै, नेपाली सेनासम्बन्धी निर्णयअन्तर्गत चार जना उपरथीहरूको सरुवा, एक जना सहायक रथीलाई उपरथीमा बढुवा, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने तथा एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले यस बाहेक अन्य सात विषयमा समेत निर्णय गरेको र ती क्रमशः मन्त्रालयहरू मार्फत सार्वजनिक गरिने प्रवक्ता गुरुङले जानकारी दिए।

