काठमाडौं, भदौ ११ ।
नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा हाल अवरुद्ध दर्ता र नवीकरण प्रक्रिया तुरुन्तै सुरु नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था मिलाइने र चाँडै नयाँ नियमावली ल्याइने आश्वासन दिए । मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण सहज बनाउन पहल भइरहेको जानकारी दिइन् ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधनपछि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरिए पनि देशभर यसको प्रक्रिया अवरुद्ध भएको पत्रकार महासङ्घले जनाएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा उपाध्यक्ष उमिद बागचन्द, सचिवहरू सोनी शर्मा र प्रकाश धौलाकोटी, केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, अर्जुन पन्त, मनुका कुँवर, पवित्रा मुडभरी, राजकरण महतो, भुपराज बस्याललगायतको उपस्थिती थियो ।

