काठमाडौं – वर्षायाम अझै सकिएको छैन, तर उखु किसान सरकारले गरेको अनुदान कटौतीको विरोध गर्दै राजधानीको माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। यता दुग्ध किसानहरूले समेत आगामी भदौ १५ देखि आन्दोलन गर्ने तयारी थालेका छन्।
कहिले बाटोमै दूध पोख्ने, कहिले हरियो तरकारी सडकमा फ्याँक्ने किसानहरूको विरोध कार्यक्रम विगतमा सर्वसाधारणले नजिकबाट हेर्दै आएका छन्। कृषिप्रधान मुलुक नेपालमा किसानलाई राज्यले दिने सहुलियत कटौती भइरहेकोमा असन्तुष्टि चुलिँदै गएको छ।
यही सन्दर्भमा नेपाली कांग्रेसकी नेतृ तथा पेशागत बुद्धिजीवी संगठनकी अध्यक्ष डा. डिला संग्रौलाले किसानको पक्षमा सरकारलाई कठोर चेतावनी दिएकी छन्।
उनले भनिन् –
“किसानहरूको उत्पादनले उचित मूल्य पाउनुपर्छ, बिचौलियाले फाइदा उठाउने अवस्था तत्काल अन्त्य गर्नुपर्छ। कांग्रेस किसान र मजदुरको पार्टी हो, त्यसैले यो सरकारले किसानका समस्याबारे श्वेतपत्र ल्याई आत्मनिर्भर नेपालको खाका कोर्नुपर्छ।”
डा. संग्रौलाले किसानकै पसिना र बलले देश अगाडि बढेको उल्लेख गर्दै स्मरण गराइन् –
“हाम्रो पेट किसानको पसिनाले भरिएको छ। उनीहरूको बलकै कारण हामी सिंहदरबार पुगेका हौं भन्ने कुरा राज्यले कहिल्यै नबिर्सनु पर्छ।”
उखु किसान आन्दोलनसँगै दुग्ध किसानको आगामी आन्दोलनले राजधानीमा थप दबाब सिर्जना गर्ने निश्चित देखिएको छ। यसबीच डा. संग्रौलाले दिएको कडा चेतावनीले सत्ता गठबन्धन सरकार, विशेषगरी नेपाली कांग्रेस नेतृत्वलाई नै गृहकार्य गर्न बाध्य बनाउने संकेत देखिएको छ।

