जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नगरपालिकाका छ जना अधिकारी र ठेकेदार कम्पनीका दुई जना साझेदारलाई प्रतिवादी बनाएर बिहीबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० का लागि कार्यालय भवन निर्माण गर्ने क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लङ्घन भएको छ। ठेक्का प्रक्रिया मार्फत गैरकानूनी लाभ लिने प्रयत्न भएको प्रमाणित भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य गर्दै नगद तथा अन्य स्वरूपमा गैरकानूनी लाभ लिएको ठहर आयोगले गरेको छ। सोही ऐनको दफा २२ अनुसार उनीहरूलाई मुख्य कसुरदारसरह सजाय दिन माग गरिएको छ।
आयोगले प्रतिवादीहरूसँग जम्मा ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसाको बिगो असुल गर्न मागदाबी गरेको छ। विज्ञप्तिमा उल्लिखितप्रमाण अनुसार, ठेक्का प्रक्रियामा देखिएको अनियमितता र दुरुपयोगले सार्वजनिक धन र स्रोतमा क्षति पुगेकाले कठोर कारबाही आवश्यक रहेको आयोगको भनाइ छ।

