काठमाडौँ, १४ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्यसचिव एकनारायण अर्याल लगायत उच्चपदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए । यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु साथै नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरू उपस्थित थिए । प्रधानमन्त्रीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीले आगामी सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने र चीनका राष्ट्रपति सी चिनफिङसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, उहाँले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा पनि सहभागिता जनाउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार राष्ट्रका रूपमा आवद्ध भएको हो । सन् २००१ मा स्थापना गरिएको यो संगठन आज विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक बनेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।
प्रधानमन्त्री ओलीको यस भ्रमणलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने अवसरका रूपमा पनि हेरिएको छ ।

